काठमाडौं १३ जेठ ः बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाण्डौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न खानेपानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् ।
बूढालीकण्ठ नगरपालिका वडा नं १० ले आज बिहान आयोजना गरेको ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उक्त कुरा बताएका हुन ।
उनले आफ्नो नगरपालिकालगायत अन्य तहका लागि पनि खानेपानीको माग आपूर्ति गर्नका निम्ति मुहानपोखरीमा बाँध बाँध्न सम्भाव्यता अध्ययन गर्ने सोच राखिएको बताए । उनले नगरपालिकाले अब आर्थिक–मानवीय विकासमा जोड दिने तथा सुशासन सुनिश्चित गर्न विभिन्न उपकरण प्रयोग गरिने जानकारी पनि दिए ।
वडावासीले उठाएका प्रश्न र जिज्ञासाबारे वडाध्यक्ष नवराज भट्टराईले आव २०७२्०७३ को स्थानीय जग्गासम्बन्धी प्रतिवेदन अध्ययन गरी नगरपालिकाले आफ्ना सरकारी जग्गा संरक्षण गर्न घेराबारा लगायत काम गर्ने र मिचिएका जमिन खोजी गर्ने जानकारी द्रिए । उनका अनुसार हाल नगरपालिकास्तरमा जग्गा संरक्षण समिति बनेको र अब वडास्तरमा उपसमितिहरू खडा गरिने छ ।
नगरपालिकाका प्रवक्ता भट्टराईले नगरका फोहर सङ्कलन र व्यवस्थापन गर्न विभिन्न कम्पनीबिच प्रतिस्पर्धा गराई योग्यलाई जिम्मेवारी दिइएको, विद्युतीय चुल्होको प्रयोग बढाउन प्रेरणा दिने हिसाबले वडाकै बजेट खर्च गरी अनुदानमा साङ्केतिक रूपमा ९२ वटा इन्डक्सन चुलो वितरण गरिएको र कपन बहुमुखी क्याम्पसलाई भविष्यमा विश्वविद्यालयकै स्वरूप दिनेगरी हाल आफैँले पूर्णरूपले सञ्चालन गर्न थालिएको जानकारी पनि दिए ।
कार्यक्रममा अघिल्लो वर्ष सम्पन्न भएका आयोजना तथा विकास निर्माण गतिविधि तथा सुशासन र सेवा विषयमा वडावासीको प्रतिक्रिया तथा आगामी आव २०८१।०८२ का लागि नीति, योजना र बजेट कार्यक्रमसम्बन्धमा सुझाव सङ्कलन गरिनाका साथै नगर अस्पताल, ह्यान्डबल ग्राउन्ड निर्माण र व्यवस्थापन, वडाको प्रशासनिक भवन शिलान्यास तथा अन्य विकास गतिविधि समेटिएको छ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ