national information day

photo : dinesh bhandari/pm office

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ । 
राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ मतलवै नभएको विषयमा पेसेवार सूचनाको हक माग्नेहरु छन् । व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरु छन् । समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने हुँदैन । हामीले सपथ ग्रहण गर्दा आवश्यक काम पर्दा बाहेक प्रकट वा व्यक्त गर्ने छैन भन्ने सपथ लिइएको हुन्छौँ । त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्छ । कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ठ सूचना अधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।