ललितपुर २६ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गर्नुभएको छ । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टरको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिटका साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिनुभयो । उहाँले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताउनुभयो । प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न परिषदलाई निर्देशन दिनुभयो । आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।