अपिहिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना


अपिहिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना सुदूरपश्चिम प्रदेशको शिर अपिको प्रर्वद्धनको लागि वेशक्याम्पसम्म टे्रकिङ

वैशाख २६ काठमाण्डौं सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रर्वद्धनको लागि अपिहिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी ) र अपिहिमाल गाउँपालिका दार्चुलाको सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र निर्माण गरिएको हो ।
कसरी जाने
चमेलीया नदीको मुहान समेत रहेको अपि हिमाल अपि बेस क्याम्प जान काठमाण्डौबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म २ दिन पैदल यात्रा गर्नुपर्छ । मकरीगाडदेखि अपिहिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेस क्याम्प जान सकिन्छ । बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटन आराम गर्न आश्रय भवनको समेत व्यवस्था गरिएको छ ।