यस्तो रह्यो भक्तपुरको वः फेस्टिभल / Bhaktapur Newari food cultur

June 9, 2024 Global Photo Bank 5 photos

भक्तपुरमा ‘वः फेस्टिभल’ अर्थात बारा महोत्सव सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको व: फेस्टिभल एवम् ग्रीन भेजिटेबल एक्सपो-२०२४ मा उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समुह लगायतका स्टल थिए । मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नं ७ नगदेशको प्रांगणमा मेलाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले यस मेलाले मध्यपुरको मात्र नभई भक्तपुरकै पर्यटन प्रवर्द्धन गर्ने बताए । यस्तै मेला अवलोकन पश्चात प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का उपाध्यक्ष सुमन पाण्डेले बन्दीपुरको पर्यटनको मोडलमा मध्यपुर थिमिको पर्यटनको विकास गर्नुपर्ने बताए । मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिएको थियो। मेलामा वःका विभिन्न परिकार उपलब्ध थिए । अध्यक्ष प्रजापतिका अनुसार नेवा समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ । स्टलमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौ लगायत नेवारी खानाका परिकारहरू राखिएका थिए । मयुर नाच, रोपाइँ जात्रा, सात कालीको नाच, कुमारी नाच लगायत स्थानीय सांस्कृतिक नृत्यहरू समेत मेलामा देखाइएको फेस्टिभल संयोजक बिक्रम बाडेले बताए । मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो । मेलाका लागि नगरपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वस्फूर्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरी कुल आठ लाख रुपैयाँ लागतमा फेस्टिभल गरिएको बाडेले बताए । केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खें वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । समितिका अनुसार कतिपय वः खानाका परिकारका रुपमा लिइँदैन । लिच्छिवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो । मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के कति महत्वबारे पनि जानकारी दिइएको थियो । वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गरिएको छ । मेलाले मध्यपुरथिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकार समेत प्रस्तुत गरिएको छ । मध्यपुरमा रहेका प्राकृतिक सौन्र्दयता, विभिन्न पर्यटकीय आर्कषण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौं उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पुर्‍याई पर्यटकलाई आकर्शित गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ । यसै सिथिनखःबाट मध्यपुर थिमिका जनताबाट सेवा प्रदान गरी मध्यपुरबासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकलाई तथा आन्तरिक पर्यटकलाई देखाउनका लागि मेला आयोजना गरिएको समितिको भनाइ छ । वः खाने प्रचलन मल्लकालबाट सुरु भएको मान्यता छ । भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरु तलेजु भगवानलाई चढाउने गरिन्छ ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment