जेठ २७ काठमाडौं : नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा विभिन्न निजी, सरकारी तथा सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा वागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ ।
नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने यस अभियानले साढे दुई महिनासम्म हरेक हप्ता नदी सरसफाई, पर्यावरणीय संरक्षण, कला, साहित्य, तथा संस्कृती झल्काउने कृयाकलापहरु, नदीमा र्याफ्टिङ र जल पर्यटनको सम्भावना उजागरण गर्ने विभिन्न कार्यक्रम आयोजना गरिने आज नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम काठमाडौं र ललितपुर महानगरपालिकाको स्वामित्वका साथै विभिन्न कलाकार र अभियान्ताको सहयोग तथा समन्वयमा आयोजना गरिने बताइएको छ ।
अभियान अन्तर्गत भदौको पहिलो शनिवार सांस्कृतिक तथा सांगीतिक कार्यक्रम , खाना महोत्सव, बन्धुत्व र्याफ्टिङ लगायत विभिन्न कृयाकलाप गरी महाजलजात्र कार्यकमसहित यस वर्षको महोत्सव समापन गरिने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष तथा वाग्मती महोत्सवका संयोजक मेघ आलले जानकारी दिनुभयो । वागमतीको समस्या समाधानका लागी समय सापेक्ष कृयाकलाप तथा जनचेतनामूलक कार्यक्रमहरुको आवश्यकतालाई मध्यनजर गर्दै वागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्दन गर्ने मुख्य उद्देश्यका साथ एकाईसौं शताब्दीको महोत्सवको रुपमा बाग्मती नदि महोत्सव सुरुवात गरिएको उहाँको धारणा छ ।
नदी किनारामा अव्यवस्थित वस्ति, व्यक्तिगत, कृषि र व्यावसायिक फोहोरको थुप्रो, नदी अतिक्रमण, अव्यवस्थित ठोस फोहोर, अप्रशोधित ढल इत्यादीले नदी सुक्दै र प्रदुषित हुँदै गइरहेको अवस्थामा जनचेतना अभिवृद्धि आवश्यक रहेकोले यो कार्यक्रमलाई निरन्तता दिइएको फ्रेन्डस कल्वका अध्यक्ष विश्वास शाहले जानकारी दिनुभयो ।
बढ्दो सहरीकरण, काठमाडौंवासीको लापरवाही, नीतिगत व्यवस्था तथा कार्यन्वयनमा कमजोरी र सरसफाईमा चासो नहुँदा वागमती दुर्गन्धित भएकोले सरोकारवाला सबैको प्रयासमा वागमतीलाई प्राकृतिक बहाबमा बग्न दिनेतर्फ सबैको चासो आवश्यक रहेको उपप्राध्यापक तथा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टिपी भुसालले बताउनु भयो । उहाँले जल पर्यटनको लागि नेपाल विश्वमै महत्वपूणर् स्थान भएको परिप्रक्ष्येमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मानिने वागमतीलाई सफा राख्न सके काठमाण्डौमा नै जल पर्यटनको लाभ लिन सकिने बताउनु भयो ।
सांस्कृतिक, धार्मिक, समाजिक, ऐतिहासिक र आर्थिक महत्व बोकेको बागमती नदी काठमाडौं सभ्यता र सहरीकरणको जग मानिन्छ । शिवपुरीको बागद्वारबाट सुरु भएर, विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर हुँदै भारतको पवित्र नदी गंगासम्मको यात्रामा बग्ने बागमती नेपालकै सबैभन्दा पवित्र र पुरानो नदी मानिन्छ । आफ्नो अविरल यात्रामा कैयौंको आस्थालाई जिवन्त पार्दै खोला किनाराका समुदायहरुको जिविकोपार्जनमा पनि परापूर्व कालदेखि ठूलो भूमिका खेलिरहेको यो नदी एकाइसौं सताब्दीमा भने प्रदुषणले दुर्गन्धित भएको अभियानको धारणा छ ।
नेपाल नदी संरक्षण संस्थाले २००१ देखि सुरु गरेको यस गैर मुनाफामूलक कार्यकम बागमती नदीको संरक्षणमा केन्द्रित वृहत्तर जनचेतानामुलक अभियान सञ्चालन गरिरहेको छ ।
Photo: Pradeep kumar Shrestha