अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

काठमाडौँ १९ असोज, अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्।
नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो।
कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए ।
नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको साथै अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे ।
लोकप्रिय नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन्।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ ।
महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।
महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए ।
सन २०१८ बाट बेलुन नेपालले हट अयर बेलुन उडान सेवा पोखराबाट दिँदै आएको छ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ