तिहार फ्लोरा एक्स्पो २०८१ को सम्पुर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले जानकारी दिएको छ । बुधबार राजधानीमा पत्रकारसम्मेलन गर्दै संघले ूतिहारको उत्सव फूलको महोत्सवू भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले कार्तिक ९ गते देखि १३ गते सम्म काठमाडौको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो गर्ने जानकारी दिएको हो ।
तिहारलाई लक्षित गरि गोदावरी, मखमली लगायत नर्सरी फलफूल कृषि बन तथा जडिबुटीहरुको प्रदर्शनी हुने आयोजक नर्सरी व्यवसायीसंघ नेपालकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले बताउनु भयो । नर्सरी र नर्सरीजन्य उत्पादनको आयात र परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादनलाई वृद्धि गर्न र तिहारको अवसरमा हुने फूलहरुको आयात कम गर्न पाँच दिने बृहत्त फूल तथा नर्सरीजन्य प्रदर्शनीले सहयोग पुग्ने आयोजक नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताउनु भयो।
मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टल सहित जम्मा ७० वटा स्टल रहने छ । मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ ।
मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने बताइएको छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिश्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र सहित सम्मान गर्ने बताएको छ ।
एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ