नेपाल सरकारले जारी गरेका अध्यादेशमा महासंघद्धारा स्वागत

२०८१/१०/०२ नेपाल सरकारले मुलुकको अर्थतन्त्र सुधारका लागि छोटो समयमा मिहिनेतका साथ शुसासन र आर्थिक सुधार लक्षित केही कानुनमा अध्यादेश मार्फत संसोधन एवं परिमार्जन गरि लगानी मैत्री वातावरण बनाउन गरेको पहलको नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गर्दछ । यसै विषयमा बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री के.पी.शर्मा ओली तथा नेपाल सरकारका मन्त्रीहरू एवं उद्योगी व्यवसायीहरूको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारको यस कदमको सराहना गर्नुभयो । अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समय देखि उठाउँदै आएका आर्थिक मुद्घाहरूलाई सम्बोधन गर्नु मुलुकको गिर्दो अर्थतन्त्र सुधारका लागि थालिएको संवेदनशील प्रयासका रुपमा लिएको बताउनु भयो । “ हामीहरुले कोभिडपछि अर्थतन्त्रमा देखिएको संकुचनको अवस्थालाई हेरेर अर्थतन्त्र चलायमान बनाउन धेरै पुराना कानून बाधक रहेको र ती कानूनहरुलाई समयानुकुल बनाउन आग्रह गरेका थियौं । निजी क्षेत्रको त्यो आग्रहलाई सुनेर सरकारले गरेको पछिल्लो निर्णयले निजी क्षेत्र उत्सािहत भएको छ । निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीज्यू सहित मन्त्रिपरिषद्लाई धन्यवाद दिन चाहन्छु । ” उहाँले भन्नु भयो । अध्यक्ष ढकालले सरकारले ल्याएका अध्यादेशको सहज कार्यान्वयनका लागि आवश्यक हुने नियमावली तथा कार्यविधिहरु पनि छिटो र सहज रुपमा ल्याउन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले सरकारद्वारा ल्याईएको अध्यादेशको स्वागत गर्नु भएको थियो ।