नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ को औपचारिक घोषणा गरेको छ । आज काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी घोषणा गरेको हो । नेपाल पर्यटन बोर्ड र नाटाबीच संयुक्त रूपमा आयोजना गर्ने सहमति सहित अनुसार सो कार्यक्रमको तयारी समेत भएको नाटाका अध्यक्ष कुमार मणि थपलियाले जानकारी दिनु भयो । उक्त कार्यक्रममाका कार्यबाहक निर्देशक सुनील शर्मा र नाटाकी वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने पर्यटन बोर्डले जनाएको छ । आगामी २०८२ जेठ १० देखि १२ गते (२३–२५ मे २०२५) सम्म काठमाडौं र लुम्बिनी–भैरहवामा सो कार्यक्रम आयोजना हुने छ । कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का लगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् ।
Photo : pradeep kumar Shrestha/ global photo bank.com