काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उद्घाटन गरेका हुन् । नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रमको उद्घघाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् । नेपाल आउने चिनियाँहरुले आफ्नो भाषामा संवादको अपेक्षा गर्ने भएकोले नेपाली पर्यटनको गुणस्तरमा भाषा प्रशिक्षण कार्यक्रम सहयोगी बन्नेछ । नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा व्याचबाट २४० जना प्रशिक्षित भइसकेका छन् । समारोहमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद का अध्यक्ष,डा हरिशचन्द्र शाहको उपस्थिति रहेको थियो ।