ललितपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभएको हो । झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, अलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ,एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवान्छित आरोपबाट रातोपाटी बचेको छ मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्ना लागि सत्य बङ्ग्याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो। उहाँले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर रातोपाटी अघि बढ्न सकेकामा प्रशंसा गर्नुभयो । रातोपाटी अनलाइनलाई यसको सङ्घर्ष र सफलताका लागि शुभकामना दिँदै आजको बदलिदो परिवेशमा डिजिटल दुनियाँमा यसको सक्रियताका लागि धन्यवाद दिनुभयो । इमानदारको खडेरी देशमा परेको हुँदैन । कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?” प्रधानमन्त्रीले भन्नुभयो । उहाँले रातोपाटी डटकमले थुप्रै अनलाइन मध्ये असाधारण ढंगले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
photo :dinesh bhandari / pm office