दीगो पर्यटन विकासमा योगदान गरेको प्रकृति रिसोर्ट ट्राभललाइभ प्रमाणीकरण

काठमाडौं । दीगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म बेलायतको प्रतिष्ठित ट्राभललाइभ प्रमाणीकरण भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ-३ मा रहेको प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मले वातावरणमैत्री पूर्वाधार विकास, अर्गानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको एक कार्यक्रम गरी जानकारी गराइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल तथा यूएनटीओको दीगो विकास लक्ष्यहरुमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइभ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिएका छन् । रिसोर्टका प्रबन्ध निर्देशक श्रेष्ठले भने, “यो उपलब्धीले रिसोर्टको दीर्घकालीन दिगो अभ्यासहरुमा मान्यता दिने र नेपाली पर्यटन उद्योगमा दिषो प्रवृतिको विकास गर्न प्रेरणा मिलेको छ । उनले ट्राभललाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्‍वबजारमा उत्तरदायी र जलवायु-मैत्री गन्तव्यको रुपमा स्थापित गर्न मद्दत पुर्‍याउने बताएका छन्। कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस किसिमका अन्तर्राष्ट्रिय प्रमाणीकरणले अन्य होटल तथा रिसोर्टहरुलाई पनि प्रेरणा मिलेको उल्लेख गरेका छन् । उनले भने, “अन्तर्राष्ट्रिय सर्टिफिकेसनले गर्दा पर्यटन क्षेत्रमा दीगो अभ्यासलाई प्रोत्साहन गर्दछ । स्थानीय समुदायको सहभागितामा मात्र दीगो पर्यटन सम्भव हुन्छ । त्यसैगरी कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अबको भविष्य नै हरित पर्यटनमा भएकोले यस उपलब्धीले इको-टुरिजम्‌मा थप टेवा पुग्‍ने बताएका छन् । यसैबीच कार्यक्रममा दीगो पर्यटन अवधारणा, रणनीति र भावि योजनाका बारेमा समूहगत छलफलसमेत भएको थियो ।