2082 Ashar 32 काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताउनुभएको छ। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो। उहाँले भन्नुभयो, “संस्कृति एउटा अमूर्त विषय हो, तर यसैभित्र शक्ति छ, प्राण छ। संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्व हो। यदि संस्कृति छैन भने त्यो समाज नै छैन भन्नु हुन्छ। त्यो समाजको पहिचान छैन भन्ने बुझ्नुपर्छ। उहाँले थप भन्नुभयो, “हाम्रो पर्यटन विविधतापूर्ण छ। नागरिक उड्डयन क्षेत्र पनि छ। यो सरकारलाई एक वर्ष पुगेको छ। यस अवधिमा मैले प्रकृति र संस्कृतिको विविधताको कुरा गर्दै आएको छु। संस्कृति र प्रकृतिलाई चलायमान बनाउँदै यसको अधिकतम उपयोग गर्ने दिशामा काम गरिरहेको छु।