काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताउनुुभएको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत ः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिनुुभयो ।