एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं, २ असार । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यकाक साथ मनाउने तय गरिएको छ ।