भोजपुर, माघ १ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त संभावना बोकेको बताउनु भएको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो । यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ, यो पदमार्गको महत्त्व अझ बढाएको छ। भोजपुर र खोटाङ्गको सीमानामा पर्ने तीन हजार १६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट शुरु हुने पदमार्ग ३ हजार ३५० मिटरको मैयुङ डाँडा, चार हजार १५५ मिटरको सिलिचुङ डाँडा हुँदै तीन हजार ७५० मिटरको साल्पापोखरीसम्म पुग्छ। मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ। कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति विनोद वान्तवाले मुन्धुम पदमार्ग भ्रमण वर्षको कार्यक्रमले पदमार्गको प्रचारप्रसारमा उल्लेख्य योगदान गर्ने बताउनु भएको थियो।