काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ। ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभयो । उहाँले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिनुभयो। उक्त ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा सगरमाथा दिवसको सफल आयोजना गर्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ठमेल पर्यटन विकास परिषद्, सगरमाथा आरोही संघ र हनुमानढोका दरबार संग्रहालय विकास समितिलाई सम्मान गरिएको थियो।