काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको हो ।
“युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अतः २१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।”
पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि समेत विश्वविद्यालयहरूले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतहरूको खोजीका पनि ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।