जनकपुर, २७ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो । विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् । न्यूट्नले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं. १२१० मा निकालेका थिए । कुलपति ओलीले भन्नुभयो, “पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो । अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मेहनत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बताउनुुभयो । विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको समारोहमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।
photo : dinesh bhandari / pm office